माघ १ राष्ट्रिय योग दिवस !
=================
नेपाल सरकारले “माघ १ गते राष्ट्रिय योग दिवस” मनाउने घोषणा गरेको ११ वर्ष पूरा भएको छ। राष्ट्रिय योग दिवसको अवसरमा प्रकृति प्रेमी समुहले २०८२ माघ १ गतेदेखि ७ दिनसम्म विभिन्न योग-स्वास्थ्य चेतनामूलक कार्यक्रम गरी मनाउने योजना गरेको छ। सहभागी हुन तयार रहन सबैमा अनुरोध छ ! प्रकृति प्रेमी समुहले विगत २५ वर्षदेखि योग-ध्यानको साँचो रुपको प्रचार-प्रसार र अभ्यास गर्दै आएको कुरा यस अवसरमा स्मरणीय छ।
नेपाल सरकारले माघ १ लाई राष्ट्रिय योग दिवस घोषणा गर्नुअघि नेपालका योग सम्बद्ध संस्थाहरुले माघ १ लाई “अन्तर्राष्ट्रिय योग दिवस” का रुपमा मनाउँदै आएको हो र त्यसको प्रस्तावक डा. हरिप्रसाद पोख्रेल हुनुहुन्थ्यो। सन् २०१५ देखि संयुक्त राष्ट्र संघले जून २१ लाई “अन्तर्राष्ट्रिय योग दिवस” घोषणा गरेपछि नेपाल सरकारले माघ १ लाई “राष्ट्रिय योग दिवस” घोषणा गरेको हो। यसको प्रस्तावक पनि डा. हरिप्रसाद पोख्रेल नै हुनुहुन्छ।
योगको दृष्टिमा कुनै दिन बढी महत्त्वको र कुनै दिन कम महत्त्वको हुँदैन। यस मामलामा प्रकृति प्रेमी समुह स्पष्ट छ। त्यसैले प्रकृति प्रेमी समुहले राष्ट्रिय र अन्तर्राष्ट्रिय योग दिवसहरु रमाइलो वा औपचारिक कार्यक्रम गरी मनाउने भन्दा स्वास्थ्य चेतना फैलाउने अवसरको रुपमा विभिन्न कार्यक्रम गरी मनाउने गर्छ। कार्यक्रमको प्रतिक्षा गर्नुहुन सबैमा अनुरोध छ !
दिवसहरु मनाउँदा हरेक वर्ष अलग अलग आदर्श वाक्य निर्धारण गरी मनाउने गरिएको देखिन्छ। तर त्यसो गर्नु योगको दृष्टिबाट आवस्यक होइन। योग सबैको लागि, संधैको लागि आवस्यक विषय हो। त्यसैले हरेक वर्ष अलग अलग महत्त्व यसको हुने होइन। योग सदाबहार महत्त्वको हो !
मनमा योग अनुशासन र योग अनुशासनको पथप्रदर्शनमा शारीरिक तथा वाचिक कर्म (योग-व्यायाम) गर्नु योगको मर्म हो ! यो सदाबहाररुपमा हुनुपर्ने कुरा हो।
योग-व्यायाम भनेको योगासन-व्यायाम र प्राणायाम मात्र होइन योग अनुशासनको पथप्रदर्शनमा शरीर र बोलीबाट गरिने सबै काम हुन्। मानिसको शरीर र बोलीबाट गरिने सबै काम योग अनुशासनको पथप्रदर्शनमा भएमा मानिसमा सदाबहार निरोग, आनन्द र स्वतन्त्रताले बास गर्छ।
=============================
(योग-व्यायाम = शरीर र बोलीबाट गरिने सबै काम )
