१९९ औं आस्वा आहा मासिक हाइकिङ्ग सम्पन्न !
मार्खु कुलेखानी क्षेत्रमा “आस्वा आहा” मन्त्र गुन्जायमान !

२०८२ कात्तिक २२ गते चौथो शनिबार प्रकृति प्रेमी समुहको १९९ औं नियमित मासिक हाइकिङ्ग मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नं. १ मा अवस्थित “महभीर झरना” मूल गन्तव्य बनाई आस्वा आहा (आफ्नो स्वास्थ्य आफ्नै हातमा) मन्त्र घन्काउँदै उल्ल्हासमय वातावरणमा सम्पन्न भयो। नेपालमा ठूलो समुहमा हाईकिङ्ग गर्ने अग्रणी संस्था प्रकृति प्रेमी समूह संस्थाले विगत २० वर्षदेखि प्राकृतिक स्वास्थ्य चेतना फैलाउन र स्वस्थ आन्तरिक पर्यटन प्रवर्धनमा सहयोग पुर्याउन नियमित रुपमा महिनाको चौथो र दोस्रो शनिबार काठमाडौँ उपत्यका वरिपरी हाइकिङ्ग कार्यक्रम संचालन गर्दै आइरहेको छ। यसै क्रममा “महभीर झरना (मोहिनी झरना) लाई मूल गन्तव्य बनाई हाइकिङ्ग गरेको हो।
कात्तिक २२ घमाइलो थियो। संस्थाको सचिव रामदेवी महर्जनको संयोजनमा ‘आफ्नो स्वास्थ्य आफ्नै हातमा’ लेखिएको निलो क्याप लगाएका प्रकृति प्रेमी हाइकिङ्ग टोली “आस्वा आहा” मन्त्र घन्काउँदै, ठाउँठाउँमा स्याउ वा पानी खाँदै, आपसमा रमाउँदै कुरा गर्दै, मध्यम गतिमा हिंडदै “महभीर झरना”मा पुगेको थियो। हावामा पानी उडिरहेजस्तो देखिने महभीर झरना हेर्दै प्रकृतिप्रेमी पदयात्रीहरु दंग परेका थिए। झरना अवलोकनपछि त्यहीँ डाँडामा ठाडोखोला गाउँका माइला साङ्बोको खाजाघरमा हाइकरहरुले स्थानीय तीन बराबर खाना (दुईथरि तरकारी, भात, दाल, अचार र सलाद) खाएका थिए। फर्कनुअघि स्थानीय उत्पादन बरेला, कागती आदि कोसेली किनेका थिए।
संस्थाले काठमाडौँ उपत्यकामा मासिक हाइकिङ्गका अलावा वर्षमा पाँच—सात पटक काठमाडौं बाहिर विभिन्न पर्यटकीय गन्तव्यमा वहुदिने ट्रेकिङ पनि गर्छ । भर्खरै तिहारअघि मात्र दोलखाको च्छो रोल्पा पदयात्रा गरेको थियो।
प्रकृति प्रेमी हाइकिङ्ग तथा ट्रेक्किंगमा स्वास्थ्यवर्द्धक खाना मात्र खुवाइन्छ। धुमपान, पत्रु खाना, जंक फुड, मैदाजन्य फास्ट फुुड, मदिरा र मासु निषेध छ।
प्रकृति प्रेमी हाइकिङ्ग र ट्रेक्किंगमा सहभागी भएर घुमघामका साथै आस्वा आहा स्वास्थ्य ज्ञान पनि लाभ हुन्छ जसले जीवनलाई निरोग-आनन्दमय र स्वतन्त्र बनाउन सहयोग गर्छ ! आगामी हाइकिङ्ग, ट्रेक्किंगमा सबैलाई स्वागत छ !



























